मानव इतिहासमै सबैभन्दा धेरै उमेर बाँच्ने १२३ वर्षीय व्यक्ति कारमेलो


बोलिभियामा १२३ वर्ष उमेरका एक वृद्ध फेला परेका छन् । यदि उनको उमेर प्रमाणित भएमा उनी विश्वकै सबैभन्दा बढी उमेरको व्यक्तिको रुपमा गिनिज बुकमा अटाउनेछन् ।

बोलिभियाको ग्रामीण क्षेत्रमा बस्ने कारमेलो फ्लोरस नामका ती वृद्ध निरक्षर छन् र उनका सबै दाँत झरिसकेका छन् । उनलाई आफ्नो उमेर कति हो ठ्याक्कै याद छैन तर आफु त्यो इलाकामा एक शताब्दी देखि बस्दै आएको कुरा भने याद छ ।

कारमेलोको जन्मकुण्डलीमा समेत जन्मसाल सन् १८९० को जुलाई १६ तारेख लेखिएको छ । तर सन् १९४० अघि सम्म त्यहाँ सरकारी जन्मदर्ताको चलन नभएकाले सरकारी अड्डामा उनको जन्मको रेकर्ड हुने कुरा भएन । त्यहीँ कुण्डलीको आधारमा बोलिभियाको जन्म दर्ता अड्डाले उनको जन्म मिति १८९० जुलाई १६ भएको प्रमाणित गरेको छ ।


विश्वमा अहिले सबैभन्दा बढी उमेरको जीवित व्यक्तिको रुपमा जापानी महिला मिसाओ ओकावा छिन् । उनी ११५ वर्षकी छिन् । त्यस्तै इतिहासमै सबैभन्दा बढि बाँच्ने व्यक्ति फ्रान्सका जेन कालमेट हुन् । उनको १२२ वर्ष १६४ दिनमा सन् १९९७ मा निधन भएको थियो ।

तर यदि कारमेलोको उमेर गिनिज बुकले प्रमाणित गरेमा उनी संसारको अहिलेको सबैभन्दा वृद्ध व्यक्तिको रुपमा मात्र होइन मानव इतिहासमै सबैभन्दा धेरै उमेर बाँच्ने व्यक्तिको रुपमा समेत नाम लेखाउन सफल हुनेछन् ।

– अनलाइनखबर/एजेन्सी