११ वर्षीय बालकलाई बलात्कार गर्ने महिला पक्राउ परिन्

फ्लोरिडा (एजेन्सी), श्रावण ३१ - अमेरिकाको फ्लोरिडा राज्यको मेरियन काउन्टीस्थित आफ्नै अपार्टमेन्टका ११ वर्षे बालकलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

यसअघि अमेरिकाको डल्लासस्थित हिलक्रेस्ट हाई स्कुलमा अंग्रेजी विषयकी शिक्षिका २४ वर्षे लेस्ली एन सार्पले एक नाबालकसँग यौनसम्बन्ध कायम गर्दा प्रहरी कारबाहीमा पर्नुका साथै जागिरै गुमाएकी छन् ।  अमेरिकाको मेरियन काउन्टी प्रहरीका अनुसार बालकको परिवारजनको मित्र 'फ्यामिली फ्रेन्ड' बनेर ३५ वर्षे साराह बेथ होपकिन्सले आठ महिनादेखि यौन शोषण गर्दै आएकी थिइन् । उनले अबोध बालकलाई 'सेक्स टोय' बनाएको प्रहरीले जनाएको छ ।

उनलाई यो आरोपमा पहिलोपटक सोमबार 'मेरियन काउन्टी कोर्ट' मा उपस्थित गराइएको थियो । उनलाई १० लाख डलरको जमानतमा मेरियन काउन्टी जेलबाट रिहा गरिए पनि यो गम्भीर मुद्दाको फैसला नहुन्जेल उनी देशबाहिर जान पाउने छैनन् । अहिले 'ग्रान्ड ज्युरी' समक्ष यो मुद्दा पुगेको छ । उनीमाथि बलात्कार र अप्राकृतिक यौनसम्बन्ध बनाएको लगायत २० आरोप लागेको छ । मुद्दाको पहिलो चरणमा यीमध्ये ५ आरोप तय भइसकेका छन् । पीडित बालकको उजुरीका आधारमा होपकिन्सलाई पक्राउ गरिएको प्रहरीले प्रस्ट पारेको छ । यसअघि बालकको आमा र ती महिलाबीच यो विषयमा मुखामुख भएको थियो । उनीहरू चाहिनेभन्दा बढी घनिष्ठता देखेपछि बालकको आमालाई शंका लागेको थियो । प्रहरीका अनुसार गत फेब्रुअरीमा सुरु भएको यो सम्बन्धमा होपकिन्सले उक्त अपार्टमेन्ट नछोडुन्जेल दुई साताअघिसम्म कायम थियो ।

 महिला भएकाले कसैले शंका नगर्ने हुनाले पीडित परिवारजनको विश्वासको उनले फाइदा उठाएको प्रहरीले बताएको छ । होपकिन्सकै भरमा परिवारजनले बालकलाई छाडेर जाने गरेका थिए । उनले पर्दा पछाडि आफ्नै बालकको भविष्यसँग खेलिरहेको अभिभावकले कल्पना पनि गरेका थिएनन् । ती बालकलाई डुलाउन लाने बहानामा उनले यो अकल्पनीय यौनअपराध गर्दै आएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

होपकिन्सले प्रहरी सोधपुछमा सहजै बालकसँग अनैतिक सम्बन्ध बनाएको सहजै स्वीकारिन् । उनले ती बालकको पनि स्वीकृति भएको दाबी गरिन् । उनले उपहारको प्रलोभन र डरत्रास नदेखाई बालकसँग सम्बन्ध बनाएको प्रहरी बयानमा बताएकी छन् । सहमतिमै भए पनि कानुनमा कम उमेरकासँगको यौनसम्बन्ध बलात्कार नै ठहरिन्छ ।

यौन दुव्र्यवहारका विशेषज्ञहरूले लोकलाज र देखावटी सम्मानका कारणले यस्तो घटना सार्वजनिक नहुने गरे पनि समाजमा सामान्य ढंगले हुने गरेको बताउँछन् । विशेषज्ञ डा. इरिन हर्लीका अनुसार ६० प्रतिशत घटनामा परिवारजनलाई यसबारे जानकारी हुने गर्छ । कम जोखिम हुने, कसैले शंका पनि नगर्ने र समाजमा असल मान्छेको छवि पनि कायम रहिरहने हुनाले महिलाहरूले पनि नाबाकलाई यौन शोषणको सिकार बनाउने गरेको उनको विश्लेषण छ । बालबालिकालाई विश्वासमा लिएर यस्ता यौन दुव्र्यवहारबारे अभिभावकले खुल्ला छलफल र कुराकानी गर्नुपर्ने विशेषज्ञ हर्लीको सुझाव छ ।