पहिलो डेटमा के नगर्ने ?

के तपाईं पहिलोपटक आफूलाई मनपर्ने मानिसलाई भेट्न जाँदै हुनुहुन्छ ? हुनुहुन्छ भने यी कुरा कहिल्यै नगर्नुहोस् :

फोन नउठाउनुहोस्

यदि तपाईं आफ्नो पि्रय मानिससँगको पहिलो डेटमा हुनुहुन्छ भने फोन उठाउँदै नउठाउनुहोस् । आफूले बल्लबल्ल मिलाएको समयलाई कुनै पनि फोन वा मेसेजले डिस्टर्ब नगरोस् भन्नेमा सचेत हुनुहोस् । सक्नुहुन्छ वा अति नै धेरै फोन आउँछन् भने मोबाइल स्विच अफ नै गर्नुहोस् । आफूले भेट्न चाहेको मानिससँगै भएको कुरालाई ध्यानमा राख्नुहोस् । पहिलो डेटमा नै तपाईं फोनमा व्यस्त हुनुभयो भने एक आपसमा कुरा कसरी साट्न सकिएला र ?

विवाद नगर्नुहोस्

तपाईं यदि आफूले मन पराएको मानिससँगको पहिलो डेटमा हुनुहुन्छ भने पक्कै पनि त्यहाँ गरिएका कुरामा चासो हुँदो हो । त्यसैले उठेका विभिन्न कुरालाई राम्रोसँग सुन्नुहोस् । राजनीति वा धर्मका अन्य कुनै पनि कुरा ल्याएर भइरहेको गन्थनमन्थनलाई नबिगार्नुहोस् । पहिलो भेट भएकाले सकेसम्म राम्रो तरिकाले विषय उठाउनुहोस् र त्यसको समापन गर्नुहोस् । विवाद हुनसक्ने विषयको उत्थान नै नगर्नुहोस् ।

पूर्वप्रेमका कुरा नगर्नुहोस्

पहिलेको प्रेमका कुरा त चाहेर पनि कसैले बिर्सन सक्दैन तर पहिलो डेटमा नै आफ्नै सबै विगतका कुरा भन्नुहुँदैन । यसले अर्को मानिसलाई अप्ठ्यारो लाग्न पनि सक्छ । यदि तपाईंलाई पूर्वप्रेमबारे कुनै कुरा सोधिए पनि त्यो विषयमा छोटो र सामान्य जवाफ मात्र दिनुहोस् । सकेसम्म पहिलो डेटमै बितेका कुरा गरेर समय तथा भेटलाई गम्भीर नबनाउनुहोस् ।

कुराकानी नबिथोल्नुहोस्

केही मानिसलाई आफू जान्ने छु भन्ने देखाउन कुराकानी गर्दागर्दै बढी बोल्नुपर्ने हुन्छ । तर, पहिलो डेटमा पनि यसरी बढी बोलियो भने पक्कै पनि त्यो भेट रमाइलो तथा सकारात्मक हुन सक्दैन । त्यसैले पहिलो भेटमा अत्यधिक बोल्ने बानी हटाउनुहोस् र अनावश्यक विषयमा प्रवेश गर्दै नगर्नुहोस् ।

धेरै नपिउनुहोस्

पहिलो भेटमा केही कुरा खोल्न वा स्थितिलाई सहज बनाउन केही पेग पिउनु त उपयुक्त हुन्छ तर पहिलो भेटमै डर लागेर होस् या मन खोल्न मन लागेर नै किन नहोस्, धेरै पिउँदै नपिउनुहोस् ।

झुत्रे ड्रेसअप नगर्नुहोस्

यदि कसैसँग पहिलोपटक भेट्दै हुनुहुन्छ भने आफ्नो लुगाबारे आवश्यक ध्यान पुर्‍याउन नबिर्सनुहोस् । राम्रो कपडा लगाएर भेट्न जाँदा पक्कै पनि तपाईंको राम्रो इमेज बन्छ । त्यसैले आफूले लगाउने कपडाबारे राम्रो ध्यान दिनुहोस् ।

योजनाविना नजानुहोस्

पहिलो भेट भए पनि सो भेटमा आफू के गर्दै छु भन्नेबारे पहिले नै राम्रोसँग योजना बनाउनुहोस् । आफूले बनाएका योजनाले भेटलाई सहज बनाउन सहयोग गर्छ भने भेटमा लामो समय के गर्ने भन्ने अन्योलमा बस्नु पनि पर्दैन ।

अरूलाई नहेर्नुहोस्

यदि तपाईं आफ्नो पहिलो भेटमा हुनुहुन्छ भने अरू मानिसतिर कुनै ध्यान नदिनुहोस् । पहिलो भेटमा अरू मानिसलाई ध्यान दिनु भनेको सो भेटबारे कुनै चासो नराख्नु हो । त्यसैले अन्य मानिस के गरिरहेछन् भनेर हेर्दा पनि नहेर्नुहोस् ।
- नयाँ पत्रिका