खोप्ने, रोप्ने र घुसार्नेहरुका अनौठा विश्व कीर्तिमान (फोटोफिचर)

मान्छेले विभिन्न काम गरेर कीर्तिमान कायम गर्छन् । विश्व कीर्तिमान कायम गरी गिनिज बुकमा नाम लेखाउन सजिलो छैन । कीर्तिमान कायम गर्न अरुले भन्दा नौलो, असजिलो वा अधिकतम काम गर्नुपर्ने भएकाले पनि यसो गर्नु जो कोहीका लागि सम्भव हुँदैन । विश्वमा केही त्यस्ता मानिस छन् जसले जिउमा खोपेर, रोपेर तथा घुसारेर विश्व कीर्तिमान कायम गरेका छन् । हेरौँ त्यस्ता कीर्तिमानी मानिसहरु :

यी हुन् टाउकोमा सबैभन्दा बढी सुइ रोप्ने विश्व कीर्तिमानी पुरुष । चीनका वेइ सेंगचुले टाउकोमा २ हजार ९ वटा सुइ रोपेर सन् २००९ मा कायम गरेको कीर्तिमान अहिलेसम्म कसैले तोड्ने हिम्मत गरेको छैन ।

आफुलाई प्रिन्स एल्बर्टको नामले चिनाउने यी बेलायती जोन लिन्चले आफ्नो जीउमा २४१ वटा प्वाल पारेर सुइ वा रिंग घुसारेका छन् । सन् १९३० मा जन्मेका यी वृद्धले सन् २००८ मा यो कीर्तिमान कायम गरेका हुन् । उनका २४१ प्वालमध्ये १५१ वटा प्वाल त टाउको र घाँटीमा मात्र छन् ।

विश्वमा सबैभन्दा बढी टाटु खोप्ने पाका पुरुष बेलायतका टम लेपार्ड हुन् । ७४ वर्षका लेपार्डले आफ्नो सरीरको ९९।९ प्रतिशत भागमा चितुवाको जस्तो देखिने गरी टाटु खोपाएका छन् ।

शरीरमा सबैभन्दा बढी टाटु खोपाउने पाकी महिला पनि बेलायतकै हुन् । इसोबेल भ्यालरी नामकी ती महिलाले आफ्नो सरीरका ९३ प्रतिशत भागमा टाटु खोपाएकी छिन् ।
- अनलाइनखबर