डिभोर्स गरेको ४८ वर्षपछि फेरि लभ पर्‍यो


वासिङटन - कुरा नमिलेर सम्बन्ध विच्छेद गरेको झण्डै आधा शताब्दीपछि ८५ वर्षका एक जोडीको फेरि लभ परेको छ । उनीहरुले अब फेरि बिहे गर्ने भएका छन् । 

रोल्यान्ड डेभिस र लेना हेन्डरसनको पहिलो लभ टिनएज मै परेको थियो । 

उनीहरुकी कान्छी छोरी रेनिटा चादविक भन्छिन्, 'हामी त निकै उत्साहित छौँ । फेरि बच्चै छौँ जस्तो लागिराछ ।' तर खासमा त उनी पनि हजुरआमा भइसकेकी छिन् । तर पनि बाबुआमा त मिलेकै राम्रो, सबै सन्तानले चाहने नै त्यही हो भन्छिन् । 

डेभिस र हेन्डरसन दुवैले अर्को बिहे गरेका थिए । तर दुवैको जोडीको मृत्यु भइसकेको छ । डेभिसकी दोस्री श्रीमतीको मृत्यु जनवरीमा भएको थियो भने हेन्डरसन धेरै अघि नै विधवा भएकी थिइन् । 

गएको इस्टरमा फोनबाट डेभिसले बिहे गरौँ न भनी प्रस्ताव राखेका थिए । 

अब एउटा चर्चमा उनीहरुको बिहे समारोह तय भएको छ । - एजेन्सी